





















२४
Shares
काठमाडौँ : देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।



आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर अधिकांश बदली रहनेछ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित वर्षा, हिमपात र हावाहुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।







