





















५
Shares
बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप हुँदा करिब एक हजार मानिस पक्राउ परेका छन्।



शनिबार देशभर भएको प्रदर्शनमा फ्रान्सको गृह मन्त्रालयका अनुसार करिब चार लाख १० हजार मानिस सहभागी भएका थिए भने मजदुर सङ्गठनहरूले आठ लाखसम्म सहभागी भएको दाबी गरेका छन्।
राजधानी पेरिससहित मार्सेई, लियोँ र बोर्डोमा प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। केही प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै आगजनी र तोडफोड गरेका थिए। प्रदर्शन नियन्त्रण गर्न सरकारले देशभर ७० हजार प्रहरी तथा जन्डार्म परिचालन गरेको थियो।
प्रदर्शनकारीहरूले बढ्दो जीवनयापन खर्च, करको भार, आर्थिक असमानता र सार्वजनिक विद्यालयको अवस्थाप्रति असन्तुष्टि जनाएका छन्। विद्यालयको अवस्थाविरुद्ध सुरु भएको प्रदर्शन विस्तार हुँदै सरकारको आर्थिक नीतिविरुद्ध केन्द्रित भएको हो।
झडपका क्रममा दुई जना गम्भीर घाइते भएको फ्रान्सका गृहमन्त्री लरेन नुनेजले बताएका छन्। यसअघि भएका प्रदर्शनमा पनि व्यापक तोडफोड र आगजनी हुँदा हजारौँ मानिस पक्राउ परेका थिए र व्यवसायहरूले ठूलो आर्थिक क्षति बेहोरेका थिए।
फ्रान्सबाहिर बेल्जियम र अल्बानियामा समेत सरकारविरोधी प्रदर्शनका क्रममा झडप भएका छन्। बढ्दो जनअसन्तुष्टिका कारण फ्रान्स सरकारमाथि राजनीतिक दबाब थपिएको छ।







