





















३१
Shares
काठमाडौँ : देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा पर्यटकलाई नजान वा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
यस अवधिमा चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।







