६४
Sharesकाठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी भूभागमा सरदर स्थानभन्दा अलि उत्तरतिर रहेकाले देशका अधिकांश भू-भागमा बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार, अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने पहाडी भू-भागमा सामान्य बदली र अन्यत्र आंशिक बदलीको अवस्था छ।
देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम वर्षा र हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ।
मौसम विभागले सम्भावित भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम समेत देखिएको छ।
साना तथा ठूला नदी, खोलानालामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले आम सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पूर्वतयारी तथा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।