





















२०
Shares
नेपालीले भव्य रूपमा मनाउने बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर यो पर्व मनाउने परम्परा छ।



धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात पृथ्वी भ्रमणमा निस्कने महालक्ष्मीले जाग्राम बसेका भक्तजनलाई धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्। यस दिन महालक्ष्मीका साथै इन्द्रको पनि पूजा गर्ने चलन छ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो दसैँ पर्व कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम पनि अन्त्य हुन्छ। आजै जमरालाई नदी, तलाउ तथा अन्य पवित्र स्थलमा विसर्जन गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आजै सम्पन्न हुन्छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
यसैबीच, कात्तिक स्नान, तुलसी पूजा तथा आकाशदीपदानको परम्परा पनि सुरु हुँदैछ।







