२३
Shares
धादिङ : भोटेकोशी बाढीपीडितको सहयोगार्थ धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशीस्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन्।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासी, समाजसेवी, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपालको आयोजना, जनजागृति माध्यमिक विद्यालयको व्यवस्थापन सहयोग तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
ICDC नेपालको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १०० जना रक्तदाताले रक्तदान गरेका हुन्।
रक्तदान कार्यक्रममार्फत संकलित रगतले आवश्यकतामा रहेका बिरामीलाई सहयोग पुग्नुका साथै विपद्का समयमा हुन सक्ने रगतको अभाव न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।









