FLASH NEWS

युवासँग उप–प्रमुख कार्यक्रम : नीलकण्ठका युवालाई एकमहिने बारिस्टा तालिम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २३, मंगलबार (४ घण्टा अघि)
  • ३७

    Shares

युवासँग उप–प्रमुख कार्यक्रम : नीलकण्ठका युवालाई एकमहिने बारिस्टा तालिम सम्पन्न

धादिङ:   धादिङको नीलकण्ठ नगरपालिकाले ‘युवासँग उप–प्रमुख कार्यक्रम’ अन्तर्गत नगरभित्रका युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने उद्देश्यले एकमहिने (१६० घण्टा) बारिस्टा (कफी बनाउने) तालिम सम्पन्न गरेको छ।

तालिममा सहभागी युवाहरूले सीपसँगै स्वरोजगारको अवसर प्राप्त भएको बताएका छन्। सहभागी सञ्जय अधिकारीले तालिमले व्यवसाय सञ्चालन गर्ने आत्मविश्वास बढाएको उल्लेख गर्दै नगरपालिकाले ब्याजरहित लगानीसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले आफ्नै व्यवसाय सुरु गर्ने योजना रहेको बताउनु भयो ।

उहाले भन्नु भयो , “सीप सिकेका छौं। व्यवसाय गर्न नगरपालिकाले विनाब्याज लगानी पनि गरिदिने भनेको छ। बेरोजगारी बढिरहेको अवस्थामा यस्तो तालिमले धेरै युवालाई रोजगारीको अवसर दिने विश्वास छ। आफ्नै व्यवसाय गर्न नसके पनि सिकेको सीपका आधारमा अन्यत्र रोजगारी गर्न सकिन्छ।”

अर्की सहभागी भावना भट्टराईले बारिस्टा सीप देश तथा विदेश दुवै ठाउँमा रोजगारीका लागि उपयोगी हुने बताउनु भयो । “बारिस्टा अहिले धेरैको रोजाइमा परेको पेशा हो। यो सीपले स्वरोजगार र रोजगारी दुवैको ढोका खोल्छ। घर, कार्यालय, होटल तथा विदेशमा समेत यो सीप प्रयोग गरेर आम्दानी गर्न सकिन्छ,” उहाले भन्नु भयो ।

तालिम समापन कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले युवालाई विदेशभन्दा स्वदेशमै व्यवसाय गरेर आत्मनिर्भर बन्न आग्रह गर्नु भयो ।

उहाले नगरपालिकाले सीप विकाससँगै व्यवसाय सञ्चालनका लागि आवश्यक लगानीसमेत उपलब्ध गराउने नीति लिएको जानकारी दिए। “हामी सबै युवाले कुनै न कुनै सीप सिकून् भन्ने चाहन्छौं। सीप मात्रै होइन, व्यवसाय गर्न आवश्यक लगानी पनि नगरपालिकाले उपलब्ध गराउँछ। माग गर्नुस्, सीप र लगानी दुवै व्यवस्था गर्छौं,” उहाले भन्नु भयो

विदेशमा रहेका नेपालीको बाहिरी चमक मात्रै नहेर्न आग्रह गर्दै उहाले स्वदेशमै अवसर सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो । “विदेशमा कमाइसँगै धेरै दुःख र संघर्ष पनि छन्। त्यसैले आफ्नै ठाउँमा व्यवसाय गरेर आत्मनिर्भर बन्नुहोस्। नगरपालिका तपाईंहरूसँग सहकार्य गर्न तयार छ,” उहाले बताउनु भयो ।

नगर प्रमुख ढुंगानाले शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा पूर्वाधारका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय काम गरिरहेको उल्लेख गर्दै नागरिकको आवश्यकताअनुसार थप कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

कार्यक्रममा उप–प्रमुख दीपक विश्वकर्माले युवाको हातमा सीप, काम र आम्दानी पुर्‍याउने उद्देश्यले बारिस्टा तालिम सञ्चालन गरिएको बताउनु भयो ।

उहाको अनुसार नगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिम सञ्चालन गर्दै युवालाई रोजगारी र स्वरोजगारमा जोड्ने अभियानलाई निरन्तरता दिएको छ।

“सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्नुहोस्। आवश्यक परे थप तालिम र व्यवसाय सञ्चालनका लागि लगानीको व्यवस्था पनि नगरपालिकाले गर्नेछ,” उप–प्रमुख विश्वकर्माले भन्नु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस