FLASH NEWS

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २१, आईतबार (३ घण्टा अघि)
  • ३२

    Shares

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।

देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने अनुमान छ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस