FLASH NEWS

थाक्रे गाउँपालिकाको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वार्षिक समीक्षा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ १९, शुक्रबार (२ घण्टा अघि)
  • ७६

    Shares

थाक्रे गाउँपालिकाको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजनाको वार्षिक समीक्षा सम्पन्न

धादिङ:  थाक्रे गाउँपालिकाद्वारा सञ्चालित महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना अन्तर्गत को वार्षिक समीक्षा कार्यक्रम गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। परियोजनाअन्तर्गत वर्षभरि सञ्चालन गरिएका गतिविधिको समग्र समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र १० अन्तर्गत रहेका महिला आत्मनिर्भर समूहका प्रत्येक समूहबाट पाँच/पाँच जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महिला समूहका प्रतिनिधिहरू, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला पक्षहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा परियोजनाबाट प्राप्त उपलब्धि, चुनौती, सिकाइ र आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा, पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, वडा नं. ३ का वडा अध्यक्ष विजय घलान, लेखा अधिकृत पवन खरेल ,वडा सदस्यहरू, महिला समूहका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

समीक्षा कार्यक्रममा परियोजनाअन्तर्गत वर्षभरि सञ्चालन गरिएका महिला सशक्तिकरण, संस्थागत विकास, क्षमता अभिवृद्धि, नेतृत्व विकास, आयआर्जन तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी गतिविधिहरूको प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरूले परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको पहिचान गरी आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले महिला आत्मनिर्भर समूहहरूलाई अझ सशक्त र दिगो बनाउन समूहहरूको सक्रिय सहभागिता, आर्थिक पारदर्शिता, सुशासन तथा संस्थागत सुदृढीकरण आवश्यक रहेको बताउनुभयो। उहाँले समूहहरूले आफ्ना गतिविधिलाई व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापाले महिला समूहहरूले केवल बचत तथा ऋणमा सीमित नभई उत्पादनमुखी र उद्यमशील गतिविधिमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। स्थानीय स्रोत, सीप र सम्भावनाको सदुपयोग गर्दै स्वरोजगार सिर्जना गर्न सके महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्ने उहाँको भनाइ थियो।

पूर्व उपाध्यक्ष अम्बिका रुपाखेतीले महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना महिलाको सामाजिक, आर्थिक र नेतृत्व विकासका लागि प्रभावकारी माध्यम बनेको उल्लेख गर्नुभयो। उहाँले समूहहरूलाई अझ संगठित, जिम्मेवार र ऊर्जाशील बनाउँदै लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष रामकुमार आचार्यले महिला आत्मनिर्भर समूहहरूले स्थानीय स्तरमा आर्थिक सशक्तिकरण, सामाजिक रूपान्तरण तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो। उहाँले महिलाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम तथा आयआर्जनका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, महिला समूहहरूलाई स्थानीय उत्पादन, कृषि, पशुपालन, लघुउद्यम तथा बजार व्यवस्थापनसँग जोडेर आर्थिक समृद्धितर्फ उन्मुख गराइने उहाँले बताउनुभयो।

कार्यक्रममा सहभागी महिला प्रतिनिधिहरूले परियोजनाबाट आफूहरूले हासिल गरेका अनुभव, सिकाइ तथा सफलताका कथा प्रस्तुत गरेका थिए। नीहरूले समूह सञ्चालनका क्रममा भोगिएका समस्या, चुनौती तथा समाधानका उपायबारे पनि आफ्ना धारणा राख्दै आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए।

कार्यक्रमको अन्त्यमा महिला आत्मनिर्भर समूहहरूबीच अनुभव आदान–प्रदान, संस्थागत क्षमता अभिवृद्धि, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने तथा आगामी वर्षका कार्यक्रमहरूलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउने साझा प्रतिबद्धतासहित समीक्षा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन रजनी लामाले गर्नुभएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस