










३९
Shares
न्युयोर्क : अमेरिकाको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस सुप्रिम युएसए २०२६’ को फाइनल चरणमा स्नेहा रुपाखेती छनोट भएकी छन् । ‘मिस सुप्रिम अस्टिन’ को उपाधि जित्दै उनले राष्ट्रियस्तरको उक्त प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । साथै, प्रतियोगितामा सहभागी भई फाइनलसम्म पुग्ने उनी एकमात्र नेपाली मूलकी प्रतिस्पर्धी बनेकी छन् ।



हाल उनी टेक्सस राज्यको अस्टिन–सान मार्कोसस्थित टेक्सस स्टेट युनिभर्सिटीमा स्नातक तहको चौथो सेमेस्टरमा अध्ययनरत छन् ।
रुपाखेतीले आगामी मे १४ देखि १६ सम्म ह्युस्टनमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा भाग लिनेछिन् । प्रतियोगिताको भव्य समापन मे १६ तारिख साँझ ६ बजेदेखि ८ बजेसम्म बीटीसी क्रिएटिभ स्पेसमा हुने कार्यक्रम तय गरिएको छ । यसअघि पनि उनले ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ मा आफ्नो दरिलो उपस्थिति जनाइसकेकी छन् ।
प्रतियोगिताको मञ्चलाई केवल व्यक्तिगत सफलता वा ताज जित्ने माध्यमका रूपमा मात्र नलिई स्नेहाले नेपालका सीमान्तकृत समुदायको आवाज विश्वस्तरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । विशेषगरी धादिङ र चितवनका विकट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायका बालबालिका, श्रमिक बालबालिका तथा शिक्षाबाट वञ्चित समूहको हकहितका लागि उनले निरन्तर आवाज उठाउँदै आएकी छन् ।
बाल्यकालदेखि नै नजिकबाट देखेका ती बालबालिकाको अवस्था सुधार गर्न र उनीहरूलाई ठूला सपना देख्न प्रेरित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएकी छन् । “धेरै बालबालिका चाहेर पनि सपना देख्न पाएका छैनन् । उनीहरूको आवाज र अधिकारका लागि म सधैं सक्रिय रहनेछु,” उनले भनिन् ।
धादिङस्थित जनजागृति माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी स्नेहाले ताजसँगै आउने जिम्मेवारीलाई प्राथमिकतामा राख्ने बताएकी छन् । साथै, विश्वव्यापी चुनौतीका रूपमा रहेको जलवायु परिवर्तन र त्यसले नेपालजस्ता विकासशील राष्ट्रहरूमा पारेको गम्भीर प्रभावलाई पनि आफ्नो मुख्य एजेन्डाका रूपमा उठाउने तयारी गरेकी छन् ।
सर्वाधिक पव्लिक च्वाइस अवार्डको लागि भोटगर्न चाहनेहरुको लागि लिङक तल राखिएको छ ।
https://www.google.com/search?q=https://catchthecrown.com/vote/contestant/node/3606






