FLASH NEWS

देशभर मनसुन सक्रिय: बागमती सहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २१, बिहिबार (१ घण्टा अघि)
  • ३०

    Shares

देशभर मनसुन सक्रिय: बागमती सहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ।

यसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, साथै मधेस प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस