FLASH NEWS

कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २६, सोमबार (२ घण्टा अघि)
  • २१

    Shares

कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौं :   नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। खुला कोटाबाट भण्डारी र आचार्य तथा समावेशी कोटाबाट चौधरी निर्वाचित भएका हुन्।

खुला कोटातर्फको मतगणनामा डा. भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरी उपसभापतिमा निर्वाचित भए।

खुला कोटातर्फ प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।

पराजित भट्टराई नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य हुन्। पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता हुन्। गुरुङ कांग्रेसका पूर्वउपसभापति हुन् भने गिरी पूर्वकेन्द्रीय सदस्य हुन्। त्यस्तै, प्रा. डा. यादव राष्ट्रिय सभाका सदस्य तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका ज्येष्ठ पुत्र हुन्।

यसैगरी, उपसभापतिको समावेशी कोटातर्फ विनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे।

समावेशी कोटातर्फ फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।

मन्सुर पार्टीका निवर्तमान सहमहामन्त्री हुन् भने परियार पूर्वसहमहामन्त्री हुन्। गुरुङ पार्टीकी पूर्वकेन्द्रीय सदस्य हुन् भने कर्ण राष्ट्रिय सभाका सदस्य हुन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस