FLASH NEWS

आजको मौसम पूर्वानुमान: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २३, शुक्रबार (८ घण्टा अघि)
  • २७

    Shares

आजको मौसम पूर्वानुमान: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं:  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा, चट्याङ, हावाहुरी, असिना र हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा तथा नदी, खोला र पहिरोको जोखिम भएका स्थानमा रहँदा सावधानी अपनाउनु आवश्यक छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस