





















२८
Shares
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली भएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी आइतबार देशका विभिन्न हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाले शुक्रबार साँझ सार्वजनिक गरेको पाँचदिने मौसम पूर्वानुमानअनुसार शुक्रबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।



शनिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार भने मौसम थप बदली हुने पूर्वानुमान गरिएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।
आइतबार रातिसमेत देशका हिमाली भू–भागमा साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।
सोमबार र मंगलबारदेखि भने मौसममा क्रमशः सुधार आउने देखिएको छ। सोमबार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि मंगलबार कोशी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा मात्रै यस्तो सम्भावना रहनेछ।
यसैबीच, पाँचदिने पूर्वानुमान अवधिभर तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।







