FLASH NEWS

एनपीएलमा आज दुई खेल हुँदै

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक १६, सोमबार (१ घण्टा अघि)
  • १३

    Shares

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं :    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको काठमाडौं गोर्खाज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। पहिलो खेलमा काठमाडौंले जित निकाल्न सकेको थिएन।

यता, कर्णाली याक्सले भने यसअघि खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्क जोडिसकेको छ। आजको खेलमा जित हासिल गर्दै तेस्रो जित निकाल्ने लक्ष्यका साथ कर्णाली मैदानमा उत्रिनेछ।

त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलेको सुदूरपश्चिमले एक खेलमा मात्र जित निकालेको छ भने दुई खेलमा पराजय बेहोरेको छ। त्यसैले चौथो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्ने दबाब सुदूरपश्चिममाथि रहनेछ।

यता, चितवन राइनोज भने हालसम्म अपराजित छ। दुई खेल खेलेको चितवनले एक खेलमा जित निकालेको छ भने अर्को खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँडेको थियो।

आज हुने दुवै खेलले एनपीएलको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस