
१४
Shares
एमालेले बुधबारदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलालाई आसन्न स्थानीय तहको निर्वाचन तयारीमा केन्द्रित गर्ने भएको छ । स्थायी समितिको मंगलबारको बैठकले भेलालाई स्थानीय तहको निर्वाचनकेन्द्रित बनाउने निर्णय गरेको हो ।



भेलामा गाउँपालिकादेखि केन्द्रीय कमिटी तहसम्मका तीन हजार ४१४ प्रतिनिधि सामेल हुँदै छन् । उपमहासचिव लेखराज भट्टले भेला स्थानीय निर्वाचनकेन्द्रित गर्ने निर्णय गरिएको बताए । ‘बैठकले राष्ट्रिय भेलालाई स्थानीय तह निर्वाचनकेन्द्रित बनाउने निर्णय गरेको छ,’ स्थायी समिति बैठकपछि उपमहासचिव भट्टले भने, ‘तयारीलाई नै केन्द्रविन्दुमा राखेर अध्यक्ष र वरिष्ठ नेताको सम्बोधन र कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।’
बैठकमा भेला तयारी समितिका संयोजक भानुभक्त ढकालले व्यवस्थापकीय तयारी र दुईदिने कार्यक्रम तालिकाबारे बैठकलाई ब्रिफिङ गरेका थिए । जसअनुसार भेलामा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले अलग–अलग कार्यपत्र पेस गर्नेछन् । उद्घाटन सकिएलगत्तै बन्दसत्र सुरु गरी बिहीबार भेला समापन हुनेछ ।
प्रतिनिधिहरूलाई स्थानीय तह निर्वाचनको तयारीमा जितका लागि पार्टीले गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ । भेलाको सुझावकै आधारमा निर्वाचनकेन्द्रित कार्ययोजना सार्वजनिक गरी तयारीमा होमिने एमालेको तयारी छ । भेलालगत्तै एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।




