



२२
Shares
धादिङ : भोटेकोसीमा आएको बाढीका कारण बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई गोनेसा पोखराको सहयोग र चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज (सिड्स) नेपालको समन्वयमा नगद सहयोग प्रदान गरिएको छ। प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो।



गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बलराम लम्साल, कृष्णप्रसाद पन्त, उर्मिला रेग्मी र रवि ओझालगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा सिड्स नेपालका निर्देशक गोकर्ण रूपाखेतीले धार्मिक तथा रोजगारीको सिलसिलामा रसुवा पुगेका बेला बाढीमा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई दुःखको यस घडीमा आफूहरू साथमा रहेको सन्देश दिन सहयोग गरिएको बताउनुभयो।
उहाँले बेपत्ता भएका व्यक्तिका परिवारले सरकारले घोषणा गरेको क्षतिपूर्ति प्राप्त गर्न आवश्यक दर्ता प्रक्रिया र त्यससम्बन्धी व्यवस्थाबारे जानकारी गराउँदै पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्ने अवसर प्रदान गरेकोमा गोनेसा नेपाल, पोखरालाई धन्यवाद दिनुभयो।
कार्यक्रममा गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले प्रभावित परिवारका बालबालिकाको संरक्षण तथा शिक्षामा समस्या देखिए पोखरामा रहेको बालगृहमा उनीहरूको संरक्षण र शिक्षाको जिम्मेवारी लिन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बाढीका कारण आफन्त गुमाएका तथा बेपत्ता भएका परिवारलाई राहत प्रदान गर्नुका साथै बालबालिकाको संरक्षण र शिक्षामा समेत सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।






