१६
Shares
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ।



सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनुहुनेछ।
बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
यस्तै, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ।
यसैगरी, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ।
बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यसूची रहेको छ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गरिनेछ। उक्त बैठक पनि बिहान ११ः०० बजे बस्नेछ।
अपराह्न १ः०० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
बिहान १०ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ।
त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अपराह्न २ः३० बजे बस्नेछ। बैठकमा मुलुकको वर्तमान अवस्था तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।






