३६
Shares
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।



महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने, हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा हिमाली भूभागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।






