३०
Shares
काठमाडौं: विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूले भोगिरहेका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ।



संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै भएकाले यही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिब जनसङ्ख्यामध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदाय रहेका छन्। उनीहरूले विश्वमा बोलिने करिब सात हजार भाषामध्ये ठूलो हिस्सा बोल्नुका साथै करिब पाँच हजार फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्।
आदिवासी जनजाति समुदायले आफ्ना विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता बहुसङ्ख्यक समुदायभन्दा फरक रहेको छ।
आफ्नो पहिचान, परम्परागत जीवनपद्धति तथा पुख्र्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकार सुनिश्चित गर्न आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र अहिले पनि उनीहरू विश्वका पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
आदिवासी जनजातिको अधिकार संरक्षण तथा उनीहरूको विशिष्ट संस्कृति र जीवनपद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ। दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिइन्छ।
विश्व आदिवासी दिवसले आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति विश्वको ध्यानाकर्षण गराउँदै उनीहरूको अधिकार, पहिचान र सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर प्रदान गर्दै आएको छ।






