










११३
Shares
धार्के: धादिङको थाक्रे गाउँपालिका–९ पिपलचौरस्थित आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. द्वारा कृषिजन्य उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा किसानहरूलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने लक्ष्यसहित २२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको सहकारीले जनाएको छ।



कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको आर्थिक सहयोग तथा थाक्रे गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो। संस्थाकी अध्यक्ष प्रमिला पण्डितको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री तथा सांसद मधुकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी कार्यक्रममा नार्कका इन्जिनियर गंगाराम भण्डारी, थाक्रे गाउँपालिका कृषि शाखाका प्रमुख सुदर्शन पोखरेल लगायत स्थानीय किसान तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै किसानको श्रम र समय बचत हुने बताएका थिए। किसानलाई आत्मनिर्भर र व्यावसायिक कृषितर्फ प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको भनाइ थियो।
सहकारीले आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार विभिन्न सीपमूलक तथा कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।






