१३
Sharesकाठमाडौँ: नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ। काठमाडौँ स्पोर्ट्स इभेन्ट्स प्रालिको आयोजनामा हुने फ्रेन्चाइज इन्डोर प्रिमियर लिग (FIPL) आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुने भएको हो।
प्रतियोगिता निर्देशक ज्योति भण्डारीका अनुसार प्रतियोगितामा १० ओभरको खेल हुनेछ भने १० वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। खेलहरू सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलिनेछन् र शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगितामा सहभागी हुने टिमहरू फ्रेन्चाइज खरिदमार्फत चयन गरिनेछ भने खेलाडी छनोटका लागि अक्सन प्रणाली लागु गरिने प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले जानकारी दिनुभयो। खेलाडीहरूलाई मार्की, ए, बी, र सी गरी चार वर्गमा विभाजन गरिनेछ। राष्ट्रिय स्तरका खेलाडीहरूलाई ‘मार्की’ खेलाडीको रूपमा राखिनेछ।
आयोजकका अनुसार प्रतियोगिताका विजेताले नेपालमै इन्डोर क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी प्राप्त गर्नेछन्। पुरस्कारको विस्तृत विवरण केही दिनमै सार्वजनिक गरिने जनाइएको छ।