२२
Shares
काठमाडौंः देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित छ।



हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशका तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको छ।






