FLASH NEWS

धादिङमा मनसुन आपतकालीन योजना स्वीकृत, सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’मा रहन निर्देशन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २५, बिहिबार (६ घण्टा अघि)
  • ५०

    Shares

धादिङमा मनसुन आपतकालीन योजना स्वीकृत, सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’मा रहन निर्देशन

धादिङ :  जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति धादिङले सम्भावित मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य तथा मनसुन आपतकालीन योजना, २०८३’ स्वीकृत गरेको छ।

जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको समितिको बैठकले बाढी, पहिरोलगायत मनसुनजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सम्पूर्ण सरकारी तथा गैरसरकारी संयन्त्रलाई उच्च सतर्कता (हाई अलर्ट)मा रहन निर्देशन दिएको हो।

बैठकले अघिल्ला निर्णयहरूको समीक्षा गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन, उद्धार सामग्रीको पर्याप्त व्यवस्था गर्न तथा आवश्यक जनशक्ति परिचालनलाई चुस्त बनाउने उद्देश्यले नौबुँदे निर्णयसमेत गरेको छ।

बैठकले मनसुनका कारण हुन सक्ने बाढी, पहिरो, सडक अवरोधलगायतका घटनालाई ध्यानमा राख्दै सबै स्थानीय तह, सरकारी कार्यालय, विकास आयोजना तथा सेवा प्रदायक संस्थालाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ। विपद्को समयमा तथा त्यसपछिको अवस्थामा खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन स्थानीय व्यवसायी र सरोकारवाला निकायलाई जनशक्ति तथा स्रोतसाधनसहित तयारी अवस्थामा रहन आग्रह गरिएको छ। साथै, विभिन्न विषयगत तथा क्षेत्रगत समूह (क्लस्टर)ले आ–आफ्नो कार्ययोजना तत्काल कार्यान्वयनमा ल्याउने निर्णय पनि गरिएको छ।

विपद्सम्बन्धी घटनाको तत्काल जानकारी दिन, लिन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर ११४९ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० को जिल्लाभर व्यापक प्रचारप्रसार गरिने भएको छ। समितिका अनुसार पहिरो तथा बाढीको उच्च जोखिम रहेका क्षेत्र, मुख्य राजमार्ग तथा स्थानीय सञ्चार माध्यममार्फत यी नम्बरबारे जनचेतना फैलाइनेछ।

बैठकले पहिरोका कारण क्षतिग्रस्त धादिङबेँसी–धुवाकोट हुँदै नेत्रावती गाउँपालिका जोड्ने सडक खण्डको तत्काल मर्मतसम्भारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय, हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको छ। साथै, वर्षा र हावाहुरीका कारण विद्युतका पोल ढली प्रसारण लाइन अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै तत्काल मर्मत गरी नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणलाई पनि अनुरोध गरिएको छ।

यस्तै, धुनीबेँसी नगरपालिकाको अनुरोधबमोजिम सिट नं. ३ग, कित्ता नं. १७० अन्तर्गत रहेको कुल ९५ रोपनी ७ आनामध्ये वृद्धाश्रम भवनसँग जोडिएको दक्षिणतर्फको १९ रोपनी ६ आना २ पैसा जग्गा वृद्धाश्रम प्रयोजनका लागि लिजमा उपलब्ध गराउन समितिले सिफारिस गरेको छ। समितिले उक्त जग्गा विपद्का बेला आवश्यक नपर्ने र भविष्यमा आवश्यकता परे सोही कित्ताको बाँकी जग्गा प्रयोग गर्न सकिने निष्कर्ष निकालेको जनाएको छ।

समितिले मनसुन अवधिभर सम्भावित विपद्को जोखिमबाट बच्न सबै जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, कुनै पनि विपद्को घटना भएमा तत्काल टोल फ्री नम्बर ११४९ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी सहयोग लिन अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस