१०६
Shares
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।



यसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।






