






२३
Shares
काठमाडौं: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–९ जोगीमाराबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।



वीरगन्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले बसमा सवार दुई जनालाई पक्राउ गरेको हो।
बसमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
बरामद लागुऔषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारिएको अवस्थामा फेला परेको थियो। कुल ७ हजार ८४० स्ट्रिप (प्रत्येक स्ट्रिपमा १० क्याप्सुल) बरामद भएको प्रहरीले जनाएको छ।
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३ का ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ परेका दुवैमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






