






२७
Shares
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपास अवस्थित रहेको छ।



जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेश प्रदेशका अधिकांश स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज राति मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा, साथै सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र मधेश प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।






