FLASH NEWS

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसी पूजा सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ कार्तिक १०, सोमबार (२ घण्टा अघि)
  • १०

    Shares

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसी पूजा सुरु

काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि सुरु हुने कात्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा–आराधना आजदेखि विधिवत् रूपमा सुरु हुँदैछ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्ने, तुलसीको विशेष पूजा–आराधना गर्ने र आकाशदीपदान गर्ने परम्परा छ। यसो गर्दा सौभाग्य, सम्पत्ति तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

आकाशदीपदान गर्दा सकेसम्म बाँसको लिङ्गो ठड्याएर दीप बाल्ने चलन छ। बाँस उपलब्ध नभएमा पलाँस, खयर वा पीपलको लिङ्गो प्रयोग गर्ने धार्मिक परम्परा छ। आकाशदीप भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ।

यस अवधिमा घरघरमा तुलसीको विशेष पूजा गर्ने चलन छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म नियमित रूपमा कात्तिक स्नान तथा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। धार्मिक मान्यताअनुसार तुलसीको पूजा सूर्योदयअघि नै गरिसक्नुपर्छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गर्दा महापातकबाट समेत मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ। कात्तिक स्नान गर्नेहरूले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना र भटमासलगायतका अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा भने गएराति सम्पन्न भएको छ। शास्त्रीय मान्यताअनुसार मध्यरातमा पूर्णिमा तिथि परेका दिन कोजाग्रत पूर्णिमा मनाइन्छ भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि परेका दिन पूर्णिमा व्रत, कात्तिक स्नानको सुरुआत, आकाशदीपदान तथा तुलसीको विशेष पूजा–आराधना गरिन्छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस