बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुन सक्ने र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आगामी सातादेखि नेपालको मौसम प्रभावित हुन सक्ने जनाएको छ। महाशाखाले सम्भावित मौसमी प्रभावलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतीय तट हुँदै अघि बढ्ने अनुमान गरिएको उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा कात्तिक ११ गतेदेखि १५ गतेसम्म पर्न सक्ने पूर्वानुमान गरिएको छ।
यद्यपि, उक्त प्रणालीका कारण नेपालमा कति मात्रामा वर्षा हुने र जोखिमको स्तर कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ।
सम्भावित मौसमी परिवर्तनलाई मध्यनजर गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा अवलोकन गर्न र आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।