FLASH NEWS

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २७, मंगलबार (६ घण्टा अघि)
  • २६

    Shares

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं :   बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। चन्द्रघण्टा देवीको पूजा आराधना गर्नाले शक्ति प्राप्त हुने, पाप नाश हुने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रका अवसरमा देवीको विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ। चन्द्रघण्टा देवीको स्वरूप शान्त, करुणामयी र शक्तिशाली मानिन्छ। विशेषगरी गीतसङ्गीत क्षेत्रमा लाग्नेहरूले पनि यस दिन देवीको आराधना गर्ने विश्वास छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर शैलपुत्री देवीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएकोमा आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदै छ।

नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गरी देवीको पूजा आराधना गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा, आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गरिन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका र जमरा लगाएर पर्व मनाउने परम्परा छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस