



२५
Shares
काठमाडौं : हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।






