

२८
Shares
काठमाडौँ : आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्न दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण औँसीका दिन समापन गरिन्छ। यस दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने परम्परा छ। आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाका बुबाको श्राद्ध भने आइतबार गरिनेछ।



पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध भनिन्छ।
पितृ पक्षको अन्तिम दिन आज औँसी तिथिको श्राद्ध गरिन्छ। कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश आज पनि श्राद्ध गर्न नसकिएमा आपद्धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने शास्त्रीय वचन रहेको जनाइएको छ।
यस अवसरमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायत तीर्थस्थलमा पितृप्रति श्रद्धा र भक्तिपूर्वक श्राद्ध गर्नेहरूको भीड लाग्ने गर्छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको चहलपहल सुरु हुन्छ। असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष सुरु हुनेछ।






