

२९
Shares
काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



यसको प्रभावले हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बिहानीपख कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।
हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।






