
३२
Shares
धादिङ: धुनिबेशी नगरपालिकाले कृषि उत्पादन वृद्धि तथा कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले साझेदारीमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत नगरभित्रका ९२ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरेको छ।



नगरपालिकाको कृषि शाखाको समन्वयमा सम्पन्न कार्यक्रमका बीच कृषकहरूलाई कृषि कार्य सहज, छिटो र कम लागतमा गर्न सहयोग पुग्ने उद्देश्यले मिनीटिलर हस्तान्तरण गरिएको हो। पछिल्लो समय कृषिक्षेत्रमा जनशक्तिको अभाव तथा उत्पादन लागत बढ्दै गइरहेको अवस्थामा यस्ता कृषि उपकरणले कृषकलाई ठूलो राहत पुग्ने विश्वास नगरपालिकाले लिएको छ।

कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने नगर उपप्रमुख सुरज उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले कृषिलाई व्यवसायिक, आधुनिक र उत्पादनमुखी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले कृषि यान्त्रिकीकरणले कृषकको श्रम, समय र लागत घटाई उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्राप्त उपकरणको सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो। विशिष्ट अतिथि नगर उपप्रमुख उप्रेतीले कृषकको आयस्तर वृद्धि तथा कृषि पेशाप्रति आकर्षण बढाउन यस्ता अनुदान कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
उहाँले कृषि क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि कृषकमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो। कार्यक्रममा सहभागी कृषकहरूले अनुदानमा प्राप्त मिनीटिलरले खेतबारी जोत्न, माटो तयारी गर्न तथा खेतीपातीका विभिन्न काम सहज हुने टोलटोलको खबर शीतको कुराकानीमा खुशी व्यक्त गरेका थिए। कृषि शाखा प्रमुख सन्तोष खड्काका अनुसार साझेदारीमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका ९२ जना कृषक छनोट गरी ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरिएको हो।
उहाँले कृषि उत्पादन बढाउन तथा कृषिलाई आधुनिक प्रविधिसँग जोड्न नगरपालिकाले आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। नगरपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रमले स्थानीय कृषकलाई आधुनिक कृषि उपकरणको पहुँच विस्तार गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।







