
३८
Shares
धार्के : धुनिवेशी नगरपालिका–६, धादिङस्थित नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।




सहकारीका सदस्य तथा सरोकारवालाहरूको सहभागितामा आयोजित तालिम नवज्योति सहकारीको सभाहलमा सम्पन्न भएको हो।
तालिममा सहकारीको सिद्धान्त, मूल्य र मान्यता, बचत तथा ऋणको सही व्यवस्थापन, वित्तीय अनुशासन, व्यक्तिगत तथा पारिवारिक आर्थिक योजना, लगानी व्यवस्थापन तथा वित्तीय जोखिम न्यूनीकरणका विषयमा सहजीकरण गरिएको थियो। सहकारी सदस्यहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले दैनिक जीवनमा वित्तीय साक्षरताको महत्व, आय–व्यय व्यवस्थापन, बचतको संस्कार तथा सहकारीमार्फत आर्थिक सशक्तीकरणका उपायबारे जानकारी प्राप्त गरेका थिए। सहकारी क्षेत्रको दिगो विकास तथा सदस्यहरूको आर्थिक उन्नतिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। सहकारीहरूले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको पाइन्छ।
तालिमको समापनमा सहभागीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आगामी दिनमा पनि सदस्य क्षमता विकास तथा वित्तीय सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने ब्यबस्थापक हरिहर लुइँटेलले टोलटोलको खबर लाई जानकारी दिनु भयो।
सहकारीका अध्यक्ष केशब प्रसाद रेग्मिको सभाध्यक्षतामा सन्चालित सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिममा महिला पुरुष सदस्य गरि ९३जनाको सहभागीता रहेको थियो भने तालिमको सहजिकरण नवकुमार अधिकारीले गर्नु भएको थियो ।






