१५
Shares
काठमाडौं: देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति दुवै समयमा वर्षा हुने सम्भावना छ।



आज दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा, साथै कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
राति पनि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। कोसी र मधेस प्रदेशमा भने सामान्यतया बदली रहने अनुमान गरिएको छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा वाग्मतीका धेरै र कोसीका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। तराई क्षेत्रमा पनि विभिन्न स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसममा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपासमा रहेको बलियो न्यूनचापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने अनुमान गरिएको छ।
विभागले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।






