४२
Shares
थाक्रे, धादिङ : थाक्रे गाउँपालिकामा शिक्षा अधिकृत कृष्णबहादुर खत्रीको स्वागत तथा परिचयात्मक प्रधानाध्यापक (प्रअ) बैठक भदौ २४ गते गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाका पूर्वउपाध्यक्ष अम्बिका रूपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, सामाजिक विकास संयोजक तथा वडा अध्यक्ष गोकुलप्रसाद लामिछाने, शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी तथा गाउँपालिकाअन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।
भेलामा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूले विद्यालयको वित्तीय तथा शैक्षिक प्रगति, असल अभ्यास, शैक्षिक सुधारका रणनीति तथा विद्यमान समस्याबारे प्रस्तुति दिएका थिए।
बैठकले गाउँपालिकाभित्रका विद्यालयमा विद्यालय समयको एकरूपता कायम गर्ने तथा विद्यालय क्षेत्रलाई जंक फुड निषेधित क्षेत्र घोषणा गर्दै जंक फुडप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने निर्णय गरेको छ।
कार्यक्रममा शिक्षा अधिकृत कृष्णबहादुर खत्रीले पारदर्शी, प्रविधिमैत्री र नतिजामुखी शैक्षिक प्रशासन, विद्यालय–शिक्षक–गाउँपालिकाबीचको सहकार्य तथा निरन्तर अनुगमन, निरीक्षण र पेशागत सहयोगलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रत्येक बालबालिकालाई समतामूलक र गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्दै थाक्रेको शैक्षिक सुधार अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउँपालिकाको समग्र विकासको आधार गुणस्तरीय शिक्षा भएकाले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी र गाउँपालिकाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै शैक्षिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।
उहाँले असल अभ्यासको आदान–प्रदान, समस्या पहिचान तथा समाधानका लागि निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नवनियुक्त शिक्षा अधिकृत कृष्णबहादुर खत्रीको कार्यकाल सफल तथा उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो।









