FLASH NEWS

थाक्रे गाउँपालिकाद्वारा बाढीपीडित नागरिकका लागि राहत घोषणा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र १५, सोमबार (१ दिन अघि)
  • ६८

    Shares

थाक्रे गाउँपालिकाद्वारा बाढीपीडित नागरिकका लागि राहत घोषणा
थाक्रे :  थाक्रे गाउँपालिकाले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित तथा पीडित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। गाउँपालिकाको १५८औँ कार्यपालिका बैठकले विपद्बाट मृत्यु भएका तथा सम्पर्कविहीन व्यक्तिका परिवारदेखि प्रभावित स्थानीय तह र विपद् व्यवस्थापन कोषसम्म सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले भाद्र १० गते आएको विनाशकारी बाढी तथा पहिरोका कारण मृत्यु भएका तथा हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिका परिवारलाई राहतस्वरूप प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै, विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिका अध्यक्षबाट ३० हजार रुपैयाँ, उपाध्यक्षबाट ३० हजार रुपैयाँ, वडा अध्यक्षबाट १५ हजार रुपैयाँ तथा वडा सदस्यहरूबाट ५ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको छ। यसबाट जम्मा ५ लाख १५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
बाढी तथा पहिरोबाट अति प्रभावित उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका लगायत संकटग्रस्त स्थानीय तहहरूमा आवश्यकताअनुसार अत्यावश्यक राहत सामग्री तत्काल हस्तान्तरण गरी सहयोग गर्ने निर्णयसमेत कार्यपालिका बैठकले गरेको छ।
यसैगरी, विपद् व्यवस्थापन तथा राहत कार्यमा थप सहयोग पुर्याउने उद्देश्यले मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषमा १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।
विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित स्थानीय तहसँग सहकार्य गर्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले यी निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस