१५
Shares
काठमाडौँ : नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान आसपासमा अवस्थित छ।
विभागका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली भू-भागमा सामान्यतया बादल लागेको छ। पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।






