२१
Shares
काठमाडौं : धादिङसहित देशका अधिकांश भूभागमा रातभर वर्षा भएको छ। पाल्पा र कपिलवस्तुमा तुलनात्मक रूपमा बढी वर्षा भएको छ भने लुम्बिनी र गण्डकीका केही स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि आइतबारसम्म देशका धेरै स्थानमा वर्षाको मात्रा बढ्नेछ। कोशी, बागमती र गण्डकीका केही स्थानमा मुसलधारे तथा धेरै भारी वर्षाको सम्भावना छ। मधेश, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा समेत भारी वर्षा हुन सक्ने जनाइएको छ।
लगातारको वर्षाका कारण बाढी, पहिरो र हिमपातको जोखिम बढेकाले हिमाली क्षेत्रमा रहेका पदयात्रीलाई सुरक्षित स्थानमा फर्कन तथा यात्रा स्थगित गर्न महाशाखाले आग्रह गरेको छ। लामो दूरी तथा रातिको यात्रा समेत अत्यावश्यकबाहेक नगर्न यातायात व्यवसायी महासङ्घले अनुरोध गरेको छ।
मौसमसम्बन्धी जानकारीका लागि टोल–फ्री नम्बर ११५५ मा फोन गरी १ थिच्न सकिनेछ।






