FLASH NEWS

शैक्षिक प्रेरणा समूह द्वारा धादिङका १३ विद्यालयका ७७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ३, आईतबार (३ घण्टा अघि)
  • ३८

    Shares

शैक्षिक प्रेरणा समूह द्वारा धादिङका १३ विद्यालयका ७७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

धार्के:   धादिङ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा असहाय विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले शैक्षिक प्रेरणा समूहले शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको छ।
“विपन्न वर्गको सहयोगका लागि व्यक्ति–व्यक्तिको हातेमालो” भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्लाका १३ वटा विद्यालयका ७७ जना विद्यार्थी लाभान्वित भएका छन्।

आइतबार धार्के चालिसेस्थित Dharke Burger House मा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको शैक्षिक प्रेरणा समूहका अध्यक्ष किरण शर्मा ले टोलटोलको खबर लाइ बताउनु भयो । उहाँका अनुसार आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा धादिङका विभिन्न विद्यालयबाट छनोट गरिएका जेहेन्दार, विपन्न तथा असहाय विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले यस्ता सामाजिक तथा शैक्षिक अभियानले आफूहरूमा थप उत्साह र आत्मविश्वास बढाएको बताएका छन्।

कार्यक्रम सञ्चालन जयराज पौडेलले गर्नुभएको थियो भने शैक्षिक प्रेरणा समूहका ३० जना भन्दा बढी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। साथै विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै भोला राउत, रजनी लामा लगायतले यस्ता सहयोगात्मक अभियानले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा व्यक्त गर्नु भएको थियो।

उपस्थित वक्ताहरूले समाजका सक्षम व्यक्ति तथा संघ–संस्थाहरूले विपन्न तथा असहाय बालबालिकाको शिक्षामा सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको अध्ययन निरन्तरताका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताएका छन्।

बिगत लामो समय देखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको शैक्षिक प्रेरणा समूहले आगामी दिनमा पनि जिल्लाका दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दै यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस