











३१०
Shares
थाक्रे, धादिङ : धादिङको थाक्रे गाउँपालिका–५ स्थित दामेचौरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट १ हजार १ सय १ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्याको समयमै पहिचान तथा उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविर चैत १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको हो।




थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गर्नुभएको उक्त शिविरमा ४ सय ४ जना पुरुष र ६ सय ९७ जना महिला गरी कुल १ हजार १ सय १ जनाले सेवा लिएका हुन्। शिविरमा २ वर्ष उमेरदेखि ९० वर्षसम्मका नागरिकहरूले आँखा परीक्षण गराएका थिए। परीक्षण गराएकामध्ये १ सय ४६ जनाको शल्यक्रिया (अप्रेसन) आवश्यक देखिएको र उनीहरूलाई निःशुल्क रूपमा उपचारका लागि लगिने आयोजकले जनाएको छ।
प्रेमसागर फाउन्डेसनको आयोजनामा सम्पन्न शिविरमा बालबालिकादेखि वृद्धवृद्धासम्मका सेवाग्राहीले आँखा परीक्षण, निःशुल्क औषधि वितरण तथा आवश्यक परामर्श सेवा प्राप्त गरेका थिए। सामान्य समस्या भएका बिरामीलाई औषधि वितरण गरिएको थियो भने जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको आयोजकले जानकारी दिएको छ।
प्रेमसागर फाउन्डेसनका व्यवस्थापक भोला राउतका अनुसार दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरमा अपेक्षाभन्दा बढी सहभागिता देखिएको थियो। “ग्रामीण भेगमा आँखा उपचार सेवा सहज रूपमा उपलब्ध नहुँदा धेरैले समस्या झेलिरहेका हुन्छन्, त्यसैले यस्ता शिविरले ठूलो राहत दिएको छ,” उहाले बताउनुभयो।
शिविरलाई प्रभावकारी बनाउन थाक्रे गाउँपालिका र थाहा नगरपालिकाको समन्वय रहेको थियो। साथै, आरम्भ ज्ञान प्रचार संघ र दि प्रेम रावत फाउन्डेसनको समेत सहकार्य रहेको आयोजकले जनाएको छ। विभिन्न संघसंस्थाबीचको सहकार्यका कारण शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको व्यवस्थापक राउतले टोलटोलको खबर लाइ जानकारी दिनुभयो।
स्थानीय बासिन्दाले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले गाउँमै सेवा पाउँदा समय र खर्च दुवै बचत भएको बताएका छन्। धेरैले पहिलोपटक आँखा परीक्षण गराउने अवसर पाएको पनि बताएका छन्।
आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ, जसले ग्रामीण समुदायको स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।






