
१२३
Shares
धादिङ: धादिङको थाक्रे गाउँपालिका–५ मा अवस्थित प्रेमसागर फाउण्डेशन जनभोजन कार्यक्रमअन्तर्गत दिवा खाजा वितरण हुने विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी एसईई तयारी तथा प्रेरणा गोष्ठी सम्पन्न भएको छ।



गोष्ठीमा धादिङ जिल्लाका पाँच तथा मकवानपुर जिल्लाको एक विद्यालय गरी करिब १६६ जना एसईई परीक्षार्थी विद्यार्थीको सहभागिता रहेको थियो। साथै, विभिन्न विद्यालयका १७ जना शिक्षकहरूको समेत उपस्थिति रहेको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले जानकारी दिनुभयो।
कार्यक्रममा एसईई परीक्षाको प्रभावकारी तयारी, समय व्यवस्थापन, विषयगत अध्ययन विधि तथा परीक्षासम्बन्धी डर हटाउने उपायबारे प्रशिक्षण प्रदान गरिएको थियो। विशेषगरी नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयको तयारीमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले निरन्तर अभ्यास, आत्मविश्वास र सकारात्मक सोचका माध्यमबाट मात्र परीक्षामा सफलता हासिल गर्न सकिनेमा जोड दिएका थिए।
गोष्ठीबाट विद्यार्थीहरूमा आत्मविश्वास बढेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। आयोजकका अनुसार एसईई परीक्षाको संघारमा आयोजना गरिएको यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूको मनोबल उच्च बनाउने विश्वास लिइएको छ।
कार्यक्रमको सहजीकरण काठमाडौँ मेरिडियन स्कुलका प्रधानाध्यापक दिनेश न्यौपानेको टोलीले गर्नुभएको थियो।






