२३
Shares
धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नं. ९ मा सुधारिएको चुलो वितरण कार्यक्रम सम्पन्न भएको छ। क्लाइमेट फ्युचरको लगानी तथा ग्रीननोभा कन्सल्टिङ प्रा. लि. र थाक्रे गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दालाई २०० थान सुधारिएको चुलो वितरण गरिएको हो।



कार्यक्रमको अध्यक्षता श्याम चन्द्र आचार्यले गर्नुभएको थियो। कार्यक्रममा क्लाइमेट फ्युचर तथा ग्रीननोभा कन्सल्टिङ प्रा. लि.का विभिन्न पदाधिकारी, वडा सदस्यहरू, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सुधारिएको चुलोको प्रयोगबाट दाउराको खपत कम हुनुका साथै घरभित्रको धुवाँमा कमी आउने, खाना पकाउने क्रममा स्वास्थ्यमा पर्ने नकारात्मक असर न्यूनीकरण हुने तथा वातावरण संरक्षणमा समेत योगदान पुग्ने विषयमा जानकारी गराइएको थियो।
स्थानीय स्तरमा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने तथा परम्परागत चुलोका कारण हुने धुवाँ र प्रदूषण घटाउने उद्देश्यले सुधारिएको चुलो वितरण गरिएको आयोजकले जनाएको छ। चुलो प्राप्त गरेपछि स्थानीयवासीले स्वास्थ्य, वातावरण तथा दाउराको खपत न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। थाक्रे गाउँपालिका, क्लाइमेट फ्युचर र ग्रीननोभा कन्सल्टिङ प्रा. लि.बीचको समन्वयमा सञ्चालन भएको यस कार्यक्रमले स्थानीय समुदायमा स्वच्छ तथा सुधारिएको प्रविधिको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।






