३७
Shares
काठमाडौं : शुक्रबार देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।



महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका धेरै स्थान तथा मधेश प्रदेशमा समेत मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका थोरै स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
रातिको समयमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






