३९
Shares
थाक्रे: धादिङको थाक्रे गाउँपालिका–४ स्थित तसर्पु स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका सम्पूर्ण स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य संस्थास्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य चौकीबाट वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य सेवा तथा कार्यक्रमको प्रगति मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा स्वास्थ्य सेवाको प्रभावकारिता र गुणस्तर अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ।



कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य आशाराम तामाङले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य चौकीका अ हे ब सुरेश नाथ प्याकुरेलले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका सम्पूर्ण स्वास्थ्य कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा महाकाली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जस् मान तामाङले स्वास्थ्य कार्यक्रम तथा विद्यालयस्तरमा स्वास्थ्यसम्बन्धी गतिविधिको प्रभावकारिताका विषयमा मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य चौकीका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा गत आर्थिक वर्षमा स्वास्थ्य चौकीबाट प्रदान गरिएका सेवा, कार्यक्रमको उपलब्धि, देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा छलफल तथा समीक्षा गरिएको थियो। सहभागीहरूले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अझ प्रभावकारी बनाउन आवश्यक सुझावसमेत दिएका थिए।
कार्यक्रमको समीक्षा तथा आवश्यक निर्देशनसहित अध्यक्ष आशाराम तामाङले समापन गर्नुभएको थियो। उहाँले स्वास्थ्य चौकीबाट प्रदान हुने सेवामा निरन्तर सुधार गर्दै समुदायका नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमले तसर्पु स्वास्थ्य चौकीको विगत वर्षको स्वास्थ्य कार्यक्रमको अवस्था समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्ने आधार तयार गरेको छ।






