
४९
Shares
तस्विर : सिताराम अधिकारि
धादिङ : आमाकाे दूध शिशु तथा बच्चाहरुका लागि सबैभन्दा उत्तम खानेकुरामात्र नभएर छ महिनासम्मका बालबालिकालाई खाेप र औषधी हुने स्वास्थ्यकर्मीहरुले औँल्याएका छन् ।



जनस्वास्थ्य कार्यालय धादिङले बिहिवार जिल्लामा क्रियाशील पत्रकार तथा सरोकारवालाहरूलाई लक्षित गरी आमाको दुधको महत्व, आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री–वितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम जनस्वास्थ्य कार्यालय प्रमुख अर्जुन पाैडेलले बताउनुभयाे ।
आमाकाे दुधमा पाइने पाेषक तत्व, यसकाे औषधीय गुण र राेग प्रतिरक्षा गर्ने तत्व पाईने भएकाेले आमाकाे दूध ६ महिनासम्मका शिशुलाई थप खानेकुरा नखुवाइ खुवाउन र त्यसपछि थप आहारासहित नियमित खुवाउनु पर्ने जनस्वास्थ्य कार्यालयका सूचनाअधिकारी ताेयानाथ छत्कुलीले बताउनुभयाे । धादिङ जिल्लामा ५२ प्रतिशत बालबालिकाले पूर्ण स्तनपान गरेकाे समेत छत्कुलीले जानकारी दिनुभयाे ।
जनस्वास्थ्य कार्यालयले गत वर्षका गतिविधि तथा चालु आर्थिक वर्ष २०८२/८३ का कार्यक्रम, सेवा प्रवाह, चुनौती तथा आगामी योजनाबारे जानकारी गराइएकाे थियाे।
अवसरमा धादिङ अस्पताल तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले उपलब्ध गराउँदै आएका सेवा, कार्यक्रम तथा प्रगतिको बारेमा पनि पत्रकारहरूलाई अवगत गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख पौडेलले जिल्लाभर सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, खोप अभियान, विद्यालय स्वास्थ्य परीक्षण, स्वास्थ्य चौकी सेवा मापदण्ड (MSS) कार्यक्रम, दादुरा–रुबेला तथा आईपीभी खोप अभियानलगायतका कार्यबारे प्रगतिसहित प्रस्तुति दिनुभयो। उहाँले जनशक्ति अभाव, भौतिक पूर्वाधारको कमी, बजेट सीमितता र ग्रामीण भेगमा सेवा पहुँच वृद्धि चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो।
यसैगरी कार्यक्रमका सहभागी नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीले जनस्वास्थ्य कार्यालय र संचारकर्मी नागरिकलाई सूचना र सचेतना गर्दै सहकार्य गर्ने बताउनुभयाे ।
कार्यक्रममा आमाको दुध शिशुको पोषण, प्रतिरक्षा क्षमता वृद्धि र समग्र विकासका लागि अनिवार्य हुने भएकाले जन्मपछिका ६ महिना केवल आमाको दुधमात्र खुवाउनुपर्नेमा वक्ताहरूले जोड दिए।
आमाको दुधका विकल्पमा प्रयोग हुने वस्तुको अनियन्त्रित प्रचार–प्रसार रोक्न बनेको आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु विक्री–वितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक तथा चुनौती दुवै रहेको उल्लेख गरियो। बजारमा आमाको दुधका विकल्पका वस्तु खुला प्रदर्शन तथा प्रचार गरी उपभोग बढाउने गतिविधि कानुनविपरीत हुने हुँदा रोकथाममा सबै सरोकारवालाहरू सक्रिय हुनुपर्नेमा पनि कार्यक्रमले ध्यानाकर्षण गरायो।
जनस्वास्थ्य कार्यालयका अनुसार कार्यक्रमबाट सहभागीहरूले शिशु स्वास्थ्य, आमाको दुध संरक्षण, कानुनी प्रावधान तथा सेवा प्रवाहका विषयमा थप जानकारी प्राप्त गरेका छन्। कार्यालयले आगामी दिनमा स्थानीय तहका प्रतिनिधि तथा समुदायसँग समेत यस्तै अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।








