२१
Shares
धादिङ: दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा धादिङको थाक्रे गाउँपालिका–१ वितलपमा सामूहिक कोदो रोपाइँ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला कृषि विकास कार्यालय धादिङको आयोजनामा शनिबार कार्यक्रम सम्पन्न गरिएको हो।



नेपालमा गत वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालिएको हो। कोदो खेतीको संरक्षण, प्रवर्द्धन, उत्पादन वृद्धि तथा यसको पोषण महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवसको अवसरमा सामूहिक कोदो रोपाइँ कार्यक्रम आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ।
कार्यक्रमका वक्ताहरूले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, उत्पादन विस्तार र व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कोदो पोषणयुक्त, जलवायु अनुकूल तथा किसानमैत्री बाली भएकाले यसको उत्पादन र उपभोग बढाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा थाक्रे गाउँपालिका–१ का वडाध्यक्ष श्यामसुन्दर थापा, कृषि विकास कार्यालय धादिङका कृषि अर्थ विज्ञ प्रेमबहादुर कुँवर, कृषि आधुनिकीकरण कार्यक्रमका कृषि अधिकृत मदन देवकोटा, भूमेस्थान साना किसान कृषि सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, थाक्रे गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुदर्शन पोखरेल तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






