३०
Shares
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा औसत स्थानकै आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।



जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी भूभागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी र पहिरोको जोखिम बढ्न सक्ने जनाएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।






