






३६
Shares
धादिङ: जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सञ्चार क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।



आर्थिक वर्षभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्यले आयोजित सञ्चारकर्मी तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न सूचक, तथ्यांक र अनुभवका आधारमा जिल्लाको समग्र स्वास्थ्य अवस्थाको समीक्षा गरिएको हो।
जनस्वास्थ्य कार्यालय धादिङको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा विभिन्न शाखाका स्वास्थ्यकर्मीहरूले आर्थिक वर्षभर सञ्चालन भएका कार्यक्रमहरूको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा नियमित खोप सेवा, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित मातृत्व कार्यक्रम, पोषण सुधार अभियान, परिवार नियोजन सेवा, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, एचआईभी तथा सरुवा रोग नियन्त्रण, नसर्ने रोग रोकथाम, मानसिक स्वास्थ्य, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रमका उपलब्धि र चुनौतीबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख अर्जुन पौडेलले स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण तथा समुदायमा आधारित स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा धादिङले उत्साहजनक उपलब्धि हासिल गरेको बताउनुभयो।
उहाँका अनुसार मातृ तथा शिशु स्वास्थ्यमा सुधार, नियमित खोप कार्यक्रमको उच्च पहुँच, सुरक्षित प्रसूति सेवाको विस्तार तथा स्वास्थ्य सेवाप्रति नागरिकको पहुँचमा उल्लेखनीय प्रगति भएको छ।
यद्यपि दुर्गम भौगोलिक अवस्था, स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव, केही क्षेत्रमा सेवा पहुँचको कठिनाइ तथा स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी अझै चुनौतीका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो। यी चुनौतीलाई सम्बोधन गर्न संघ, प्रदेश, स्थानीय तह, सञ्चार माध्यम तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रमका सहजीकर्ता तथा जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले आर्थिक वर्षभर सञ्चालन भएका कार्यक्रमहरूको तथ्यांकसहित समीक्षा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, आधुनिक उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सचेतनामूलक अभियानको विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
उहाँले स्वास्थ्यसम्बन्धी सही सूचना समयमै नागरिकसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्य प्रवर्द्धनका अभियानमा सञ्चारकर्मीहरूको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा सुझाव राख्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक प्रयासको प्रशंसा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक सुधारमा जोड दिनुभयो। उहाँले स्वास्थ्यसम्बन्धी सूचना र जनचेतनामूलक सामग्रीलाई समुदायसम्म प्रभावकारी ढंगले पुर्याउन जनस्वास्थ्य कार्यालय र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा गुणस्तर सुधार, समुदायस्तरमा जनस्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि तथा स्वास्थ्य सूचना समयमै नागरिकसम्म पुर्याउन सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देखिएका चुनौती समाधानका लागि सरकारी निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चार क्षेत्र र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जनस्वास्थ्य कार्यालय धादिङले आगामी दिनमा नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ कार्यक्रमहरूलाई अझ परिणाममुखी ढंगले सञ्चालन गर्ने जनाएको छ।






